ओमानलाई हराउँदै समूह विजेता बन्ने नेपालको लक्ष्य

आईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनल पुगिसकेका घरेलु टोली नेपाल र ओमानबीचको खेल हुँदा समूह विजेता बन्ने होड हुनेछ ।

समूह ए मा दुवैले यसअघि सिंगापुर र मलेसियालाई हराउँदै एक खेलअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए ।

Advertisement

नेपाल र ओमानबीचको समूहको अन्तिम खेल बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा बिहान ९ बजे सुरु हुनेछ ।

सेमिफाइनल खेलअघि दुवै टोली अन्तिम खेल जित्दै समूह विजेता बन्ने योजनामा छन् ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेट र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको हो ।

सेमिफाइनलको वार्म अप खेल

नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेकोले त्यस खेलअघि यो वार्म अप खेल जस्तै हुनेछ । किनकी दुवै टोलीले यसअघि तुलनात्मक रुपमा केही कमजोर टोलीसँग खेलेका थिए ।

नेपालले सिंगापुर र मलेसियालाई पराजित गर्दा उत्कृष्ट प्रदर्शन गर्दै सहज जित हात पारेको थियो । नेपालले दुवै खेलमा लक्ष्य पछ्याएर जित निकाल्दा ओमानले भने दुवै खेलमा स्कोर डिफेण्ड गरेको थियो ।

१० वर्षपछि फेरी टी-२० विश्वकपमा पुग्ने लक्ष्यमा रहेको नेपाल अब दुई खेल मात्र टाढा छ । त्यसैले समूहको अन्तिम खेलमा ओमानलाई हराएर समूह विजेता बन्ने नेपालको लक्ष्य छ ।

समूह विजेता बन्ने टोलीले सेमिफाइनलमा यूएई विरुद्ध हुने सम्भावित खेल टार्नेछ । नेपालको जस्तै ओमानको चाहना पनि त्यही हुनेछ ।

समूह बीमा दुई खेल जितेको यूएईको ४ अंक छ । बहराइन र हङकङको समान २ अंक छ भने पुछारमा रहेको कुवेतको कुनै अंक छैन । तर बहराइनसँग खेल्न बाँकी रहेको कुवेतको पनि सेमिफाइनल पुग्ने गणितीय संभावना कायम छ । ४ अंक रहेको यूएईले पनि सेमिफाइनलमा पुगिसकेको छैन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु